प्रतिष्ठानका अध्यक्ष खनियाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

पोखरा । गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।
आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रचना र सङ्गीत दुवै खनियाको रहेको छ । सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्य अभिनय रहेको छ ।
माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोमा देखाउन खोजिएको छ । २० वर्षअघिको युद्धको पीडापछि पनि आफू नहराएको, बरु सहरको साँघुरो गल्लीको अग्लो घरको अँध्यारो कोठामा जीवन बिताइरहेको सूचना दिनका लागि गीतको सहारा लिइएको कथा म्युजिक भिडियोले प्रस्तुत गरेको छ ।
२०६६ मा ‘दोष’ एल्बम स्रोतामाझ ल्याएका गीतकार हरिहर खनियाले आफू स्वयम् पनि गीति क्षेत्रमै रहेको सूचना दिनका लागि पनि यो गीत सार्वजनिक गरेको जानकारी दिए । ‘म बिस्तारै बिस्तारै सिर्जना कर्ममै लागिरहेको छु’ खनियाले भने, ‘व्यावसायिक व्यस्तताका कारण नियमित पाठक÷स्रोतामाझ आउन नसके पनि सिर्जना भने गरिरहेकै छु ।’ दोष एल्बममा समेटिएका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘सबको पिरतीमा दरबार हुन्छ…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी तड्पी मर्दा…’ लगायत उनका अधिकांश गीत हिट भएका थिए । गीतकार प्रतिष्ठान, नेपालका अध्यक्षसमेत रहेका खनिया लमजुङमा जन्मेर विगत २ दशकदेखि पोखरामा रहेर साहित्य र सङ्गीतमा क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *